धरान: पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नेहरुको विरुद्धमा धरानका राजनैतिक दलहरुले किटानी जाहेरी दिएका छन् । 

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्षतिको विवरण र संलग्नहरुको नाम किटानीसहित आइतबार दिउँसो इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको हो । किटानी जाहेरी दिइएका व्यक्तिहरुको नाम गोप्य राखिएको छ । पार्टीहरुसँगै वडा नं २ को कार्यालयका तर्फबाट पनि २ जनाको नाममा किटानी जाहेरी परेको छ । भदौ २४ गते वडा २ को कार्यालयमा पनि ढुंगामुढा हुँदा केही क्षति पुगेको छ । 

जेनजी आन्दोलन समापन भइसकेपछि अराजक समुहको भिडले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको थियो । अराजक भिडले एमाले र कांग्रेस पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै सामानहरु बाहिर सडकमा निकालेर आगजनी गरेको थियो । माओवादी केन्द्रको पार्टी कार्यालयमा भने भवन भित्रै आगजनी गरेको थियो । 

किटानी जाहेरीसँगै तोडफोडमा संलग्नहरुको भिडियो फुटेज, तस्बिरहरु पनि बुझाएका छन् भने क्षतिको विवरण पनि उल्लेख गरिएको छ । तोडफोड र आगजनीबाट सबैभन्दा बढी माओवादी केन्द्रमा ४१ लाख २१ हजार बराबरको क्षति भएको जाहेरीमा उल्लेख छ भने नेपाली कांग्रेसलाई २० लाख ४७ हजार र एमालेलाई २० लाख रुपैया बराबर क्षति भएको उल्लेख गरिएको छ । 

जाहेरी दर्ता नभएको र पक्राउ नगरिएकोप्रति असन्तुष्टी

party2 copy

व्यक्तिको घर, व्यवसाय र राजनैतिक दलहरुको पार्टी कार्यालयमा भएको तोडफोड र आगजनी गर्नेहरुविरुद्ध किटानी जाहेरी दिएपनि दर्ता नभएको साथै कोही पनि पक्राउ नपरेको भन्दै राजनैतिक दल तथा पीडितहरुले प्रहरीसँग चर्को असन्तुष्टी प्रकट गरेका छन् । 

आइतबार इलाका प्रहरी कार्यालय पुगेका नेताहरुले बिषम परिस्थिति भएकोले प्रहरीलाई सुविधा दिइए पनि जाहेरी दर्ता नभएको र सम्बन्धित व्यक्तिहरु पक्रउा नपरेको भन्दै असन्तुष्टी जनाएका हुन् । पुर्वमेयर तिलक राईले किटानी जाहेरी दिइएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ नगर्ने हो भने प्रर्दशनसहित सम्बन्धित व्यक्तिहरुको घरमा जाने, आफै समाउने भनेर सर्वपक्षीय नागरिक बचाउ अभियानमा दबाब आएको र छलफल पनि भइरहेको बताए । 

‘डिएसपी साब सरुवा हुनुभएको छ, हामीले पनि सुविधा दिएका छौं । तर जाहेरी दर्ता पनि भइरहेको छैन, मान्छे पनि पक्राउ परेको छैन । जो हामीसँग सम्पर्क आए त्यसलाई बुझाउने काम मात्र भएको छ,’ उनले भने,‘अब भएन भने भोलीदेखि आफै समाउने र मासरुपमा प्रर्दशनसहित सम्बन्धित व्यक्तिहरुको घरमा जाने, प्रेसर क्रिएट गर्ने भन्ने सुझाव र छलफलहरु भइरहेको छ । तर हामी नेताहरुले त्यस्तो गर्नुहुदैन, राज्यको स्टेकहोल्डर दलहरु पनि हो, संयमता अपनाउनुपर्छ भनिरहेका छौं । तर प्रहरी प्रशासनबाट नजरअन्दाज भइरहेको हो कि भन्ने आइरहेको छ ।’

party copy

नेकपा एमालेका अध्यक्ष हर्कजंग एभेङले पनि किटानी जाहेरी दिइएका व्यक्तिहरु र प्रहरीलाई उपलब्ध गराएको भिडियो फुटेज हेरेर दोषीहरुलाई पक्राउ गरि कानुनी कारबाही गर्न माग गरे । ‘किटानी दिइएका र भिडियो फुजेटमा देखिएकाहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ, कानुनी राज्यमा यही अपेक्षा गरेका छौं,’ उनले भने, ‘अन्यथ हामीले कानुनी दायरमा ल्याउन वल प्रयोग गर्दा विभिन्न घटनाहरु घट्न सक्छ, त्यसको जवाफदेहिता प्रशासनले लिनुपर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष उद्वव लिम्बुले पनि जाहेरीमा नाम किटान गरिएकाहरुलाई तत्काल पक्राउ गरेर कानुनी कारबाहीको दायरामा प्रहरीले ल्याउनुपर्ने माग गरे । उनले भदौ २४ गतेको घटना स्मरण गर्दै आफुहरुको पार्टी कार्यालयमा ४ पटकसम्म आक्रमण र आगजनी भएको बताए । दोस्रो पटक आक्रमण हुँदा आफुहरु नजिकै भएपनि संयमता अपनाएर ठुलो भिडन्त र रक्तपात हुन नदिएको पनि अध्यक्ष लिम्बुले बताए । 

डिएसपीको आग्रह, 'भेरिफाई गर्दैछौं, धैर्य गरिदिनुस्'

dsp copy 1

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले टेक्निलक र म्यानुअल दुवै पाटोबाट घटनाहरुको अनुसन्धान भइरहेको बताए । उनले हतारमा मान्छे पक्राउ गर्दा हचुवाको भरमा समातेको आरोप लाग्नसक्ने भएकोले सुक्ष्मढंगले अनुसन्धान गरिरहेको पनि बताए । 

तथ्य र प्रमाणले संलग्नता देखिएमा कानुन वमोजिम कारबाही हुने कुरामा कोही कसैले केही भनिरहन नपर्ने डिएसपी जबेगुले बताए । ‘तपाईहरुको जाहेरी हतारमा दर्ता गरेर मास एरेष्ट गरेर कारबाही गर्दा प्रहरीले हचुवाको भरमा अनुसन्धन गर्यो, हचुवाको भरमा पक्राउ गर्यो भन्ने आरोप लाग्नसक्छ, त्यही भएर यस्तो कुरामा स्क्रिनिङ गरेर तथ्यमा पुगेर मात्र मान्छे पक्राउ गछौं, यसको निश्चित प्रक्रिया हुन्छ, अलिकति समय लाग्छ,’ उनले भने,‘त्यो बेलासम्म धैर्य गरिदिनुहुन अनुरोध गछौं ।’

प्रहरीले आफुसँग भएका फुजेट र जाहेरकर्ताहरुले उपलब्ध गराएका भिडियो, फोटोलाई म्याच गराएर भेरिफाइ गरिरहेको पनि डिएसपी जबेगुले बताए । अनुसन्धानमा रहेका व्यक्तिहरु भिडियोमा नदेखिएको र कसैले आफ्नो नाम किटानी जाहेरीमा परेपनि आफु कतै नगएको दाबी पनि गरेको डिएसपी जबेगुले बताए । ‘हामीसँग भएको र तपाईहरुले दिएको भिडियो फुजेट म्याच गराएर भेरिफाइ गरिरहेका छौं, हामीलाई शंका नगरिदिन अनुरोध गछौं’ उनले भने । 

भिडियो: