धरान: स्वतन्त्र नागरिक समाज धरानले तोडफोड, लुटपाट र आगजनीलगायतको घटनामा संस्थागत वा व्यक्तिगतरुपमा संलग्नता नभएको बताएको छ ।

समाजले आइतबार पत्रकार सम्मेलन गर्दै संस्था र नेतृत्वमा रहेका व्यक्तिहरुविरुद्ध राजनीतिक प्रतिसोध साँधेर घटना गराउन उक्साएको आरोपबारे खण्डन गरेको छ । समाजले भदौ २४ गतेको घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै भिडियो फुटेज, फोटोमा देखिएका अराजक र उच्छृंखल व्यक्तिहरु कसैलाई पनि छुट नहुने सचिव प्रेम श्रेष्ठले बताए ।

समाजका अध्यक्ष समिर तामाङले पनि आफुहरुविरुद्ध उजुरी परेको भन्दै उक्त घटनाहरुमा संस्था वा पदाधिकारीहरु कसैको पनि उपस्थिति नभएको बताए । श्रमदानमा आउने व्यक्तिहरु भिडियो फुटेजमा देखिएपनि उनीहरु संस्थाको सदस्य नरहेको र कसैले पनि उक्त अपराधिक कार्य गर्न उक्साउने कार्य नगरेको उनले जिकिर गरे । 

भिडियो:

‘हामीलाई राजनैतिक प्रतिसोध साध्ने काम भएको छ, यस्तो अपराधिक कार्य गर्न हामीले गरेका पनि छैनौं, र गर्दैनौं पनि,’उनले भने,‘हामी त समाज जोड्न, देश बनाउन ढुंगा बोक्नुपर्छ भन्ने मान्छेहरु हौं, यस्तो तोडफोड गर्ने कल्पना पनि गर्दैनौं ।’

अध्यक्ष तामाङले घटनाबारे सरकारले छानबिन गरेर दोषी देखिएकाहरुलाई कारबाही गर्नुपर्ने संस्थागत धारणा रहेको पनि बताए । यसमा दोषी देखिएका जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘हाम्रो संस्थालाई, मेयर साबलाई, श्रमदाताले भनेर हामी नेतृत्वलाई आरोप लगाउने काम भएको छ,’उनले भने,‘संस्था र नेतृत्वले यस्तो काम गर्ने, गराउने गर्दैन । व्यक्तिगतरुपमा कसैले कहाँ के गर्छ भनेर हामी जिम्मेवारी लिदैनौं ।’

दिनभरी पसलमै थिएँ, मविरुद्ध पनि उजुरी भयो: कमल श्रेष्ठ

kamal copy

धरान ११ का कमल श्रेष्ठले आफु भदौ २४ गते दिनभरि पसलमा नै बसेको र कही कतै नगएपनि आफुहरुविरुद्ध प्रहरीमा जाहेरी दिएको बताएका छन् । 

स्वतन्त्र नागरिक समाजले गरेको पत्रकार सम्मेलनमा आकस्मिकरुपमा आइपुगेका श्रेष्ठले आफुजस्तै देखिने व्यक्ति भिडियो वा फोटोमा देखेकै आधारमा राजनैतिक व्यक्तिहरुले जाहेरी दिएको उनले बताए । 'म कहीकतै गएको छैन, व्यापार गरेर बसेको मान्छे हुँ,' उनले भने, 'त्यो दिन पनि व्यवसायमा नै थिएँ, तर मेरो नाम हालेर जाहेरी परेको रहेछ ।' 

उनले आफु निर्दोष भएपनि फसाइएको भन्दै न्याय पाउनुपर्ने माग गरे । आफुविरुद्ध जाहेरी दिएर मानहानी भएको पनि उनले बताए ।

swatantra copy