धरान: प्रहरीले धरान २० स्थित भन्ज्याङबाट गाँजा बोकेको पिकअप गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लागूऔषध ओसार पसार भइरहेको बिशेष सुचनाको आधारमा खटिएको अस्थायी प्रहरी चौकी बिष्णुपादुकाको टोलीले पक्राउ गरेको हो । प्रहरीले को. १ ज. २१७८ नम्बरको यात्रुबाहक पिकअप गाडीको पछाडि पट्टीको डालाबाट ५ वटा कालो झोलामा प्याक गरिएको ५० केजी गाँजा वरामद गरेको जनाएको छ ।
चेकजाँचको क्रममा डालामा बसेका २ जना गाडीबाट हाम्फालेर फरार भएको पनि प्रहरीको भनाई छ । प्रहरीले गाडी चालक धनकुटाको सागुरीगढी ९ का ४८ बर्षीय खडग बहादुर मगराती र सह चालक १७ बर्षीय दुर्गा बिकलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको र फरार मानिसहरुको खोजतलास कार्य पनि भइरहेको जनाएको छ ।







