धरान: जेन जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते धरानमा भएको तोडफोड, लुटपाट र आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्न एक समिति गठन गरिएको छ ।

शनिबार नगरसभा अघि बसेको कार्यपालिका बैठकले उपप्रमुख अइन्द्रबिक्रम बेघा संयोजक रहेको पाँच सदस्यीय समिति गठन गरेको हो । बैठकमा कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले उक्त घटनाबाट के कति क्षति पुगेको हो, सो विवरण स्थानीय सरकारले संकलन गर्नुपर्ने माग गरेका थिए । 

बैठकले समितिको सदस्यहरुमा वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, वडा ३ का अध्यक्ष विद्या शाक्य, कार्यपालिका सदस्य सावित्री परियार, वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ र प्रशासन प्रमुख वेदप्रसाद सापकोटा रहने पनि निर्णय गरेको छ । साथै, सोही बैठकले कार्यपालिका सदस्य सृर्जना नेपालसहित पुर्वजनप्रतिनिधिको घर, भाटभटेनीमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनाप्रति दुःख व्यक्त गरेको छ । 

manoj menyangbo copy

पहिलो दिन जेनजीको शान्तिपुर्ण आन्दोलन भएको थियो भने दोस्रो दिन आन्दोलन समापन भइसकेपछि अराजक समुहले तोडफोड, लुटपाट र आगजनी गर्दै धरानमा आतंक सृर्जना गरेको थियो ।

उक्त समुहले एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालय तोडफोड र आगजनी गरेको थियो भने पुर्वमेयर मनोजकुमार मेन्याङ्बोको होटल कञ्चनजंघा, पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदी, कार्यपालिका सदस्य सृर्जना नेपाल, पुर्वसांसद जयकुमार राई, कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा र कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङको घरमा तोडफोड, लुटपाट र आगजनी गरेको थियो ।

पीडितहरुले विभिन्न भिडियो फुटेज, तस्बिरलगायतको आधारमा पहिचान खुलेकाहरु विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिइसकेका छन् । ती मध्ये केही व्यक्तिहरु पक्राउ परिसकेका छन् भने अन्य फरार छन् ।