धरान: संविधान दिवसको अवसरमा शुक्रबार धरानमा जेन जी आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली तथा सद्भाव र्याली सम्पन्न भएको छ ।
सर्वपक्षीय समन्वय समिति धरानको आयोजनामा छाताचोकदेखि भानुचोकसम्म वृहत सद्भाव र्याली निस्केको हो । र्यालीमा सहभागीहरुले संविधान रक्षाको माग गरिएको प्लेकार्ड पनि गरेका थिए । नेपालको संविधान जारी भएको ११ औं बर्ष पुगेको बेला अहिले मुलुकले राजनैतिक संकटसँगै संवैधानिक संकट पनि व्यहोरिरहेको छ । जेन जीको आन्दोलनले मुलुकमा ठुलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको छ भने संसद विघटन भएर गैरदलीय सरकार गठन भएको छ । जसको मुख्य म्याण्डेट आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्नु रहेको छ ।
यस्तो बिषम परिस्थितिमा संविधान दिवस मनाइरहदा मुख्य नारा नै संविधान रक्षा होस् भन्ने लगाउनु परेको छ । जेन जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते धरानमा शान्तिपुर्णरुपमा समापन भइसकेपछि पार्टी कार्यालय, नेताहरुको घर र पुर्वजनप्रतिनिधिहरुको घर, होटल, भाटभटेनीमा तोडफोड, लुटपाट र आगजनी भएको थियो ।
अराजक समुहले वितण्डा र विध्वंश मच्चाइरहदा नेताहरुको घरमा आक्रमण हुन थालेपछि भदौ २४ गते राती राजनैतिक दलका नेता, कार्यकर्ताहरुले प्रतिकार गरेका थिए, र सर्वपक्षीय समन्वय समिति गठन गरेर शान्ति सुरक्षा, सद्भाव कायम गराउन पहलकदमी थालेका थिए । सोही समितिले शुक्रबार संविधान दिवसको अवसरमा श्रद्धाञ्जली तथा सद्भाव र्याली निकालिएको थियो ।
र्याली भानुचोकमा पुगेपछि महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी तथा जेन जी प्रतिनिधि रविन श्रेष्ठ, महिला सञ्जाल धरानकी सचिव तथा अधिवक्ता इन्द्रकला राई र उद्योगी, व्यवसायीका प्रतिनिधि विष्णु वरालले सम्बोधन गरेका थिए ।
विद्यार्थी नेता श्रेष्ठले धरानमा भएका आगजनी, तोडफोड लगायतका घटनामा नगर प्रमुख हर्क साम्पाङ छानबिनको दायरामा आउने भए राजिनामा दिनुपर्ने बताए । जेन जी आन्दोलनमा घुसपैठ भएको र श्रमदानमा प्रयोग हुने माइक, मेयरका नजिकका व्यक्तिहरु पनि संलग्न देखिएकोले उक्त घटनाहरुमा मेयर पनि शंकाको घेरामा रहेको उनले बताए ।
महिला सञ्जालकी सचिव राईले भदौ २३ र २४ गते भएका सबै घटनाहरुको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कडा कानुनी कारबाहीको माग गरिन् । जेन जीहरुले उठाएको भ्रष्टचारमुक्त नेपालको मागप्रति सबैको साथ, समर्थन भएपनि आन्दोलन नेतृत्वविहिन हुदा घुसपैठ भएरु राष्ट्रमा ठुलो जनधनको क्षति भएको उनले बताइन् ।
धरानको घटना उल्लेख गर्दे उनले मिलेर बसेको समाजलाई जात, धर्म, सँस्कृतिको नाममा अशान्त बनाउन खोजिरहेको भन्दै त्यस्ता तत्वहरुलाई पहिचान गरेर बहिष्कार गर्नुपर्ने पनि बताइन् । साथै, उनले जनताहरुलाई भ्रष्टचारी भनेर गाली गरिरहदा जनताहरुले पनि व्यक्ति र व्यवसायिक भवनमा आक्रमण गरेर सामानहरु लुटेको देखिएको भन्दै नेता, जनता सबै सच्चिनुपर्ने बताइन् ।
व्यवसायी बरालले पछिल्लो साता नेपाल र नेपाली जनताले धेरै कष्ट व्यवहोर्नुपरेको उल्लेख गर्दै संविधानको मर्म सधै जिवित भइरहनुपर्ने बताए । संविधानको रक्षाको लागि सबै जुट्नुपर्ने पनि उनले बताए । साथै, जेन जी आन्दोलनमा घुसपैठ भएर विध्वंश मच्चिदा धरानले ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै दुःख व्यक्त गरे । उद्योगी, व्यवसायीमाथि भएको आक्रमणले कोभिडको बेलाभन्दा बढी घाटा भएको भन्दै उनले सरकारले ध्यान दिनुपर्ने पनि बताए ।



