धरान: जेन्जी आन्दोलनको नाममा धरान ८ स्थित होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट गर्ने अराजक समुहविरुद्ध पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले जाहेरी दिएका छन् ।
धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभिायन, राजनैतिक दलका नेता, पुर्व एवं वर्तमान जनप्रतिनिधिहरुसहितको उपस्थितिमा मेन्याङ्बोले मंगलबार प्रहरीमा जाहेरी दिएका हुन् । होटलमा आक्रमण गर्न आएकाहरु मध्ये विभिन्न भिडियो फुजेट, फोटो र म्योजसहरुबाट पहिचान खुलेकाहरुको नाममा किटानी जाहेरी दिएको पुर्वमेयर मेन्याङ्बोले जानकारी दिए । जाहेरीमा एक दर्जनको नाम रहेको पनि उनले बताए । मेन्याङ्बोका अनुसार लुटपाट गरेर पैसा लैजाने मध्ये २ जनाले हिजो सोमबार आत्मसमर्पण गर्न आएका थिए । उनीहरुलाई प्रहरीको जिम्मा लगाएको पनि मेन्याङ्बोले बताए ।
भदौ २४ गते जेन्जी आन्दोलन समापन भएपछि पुर्वमेयर मेन्याङ्बोको होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट भएको थियो । त्यसक्रममा अराजक समुहले मेन्याङ्बोकी श्रीमति शान्ताको हातबाट खोसेर ६ लाख रुपैया लुटेर लगेका थिए । होटललाई रिनोभेसन गरिरहेका मेन्याङ्बोले काम गर्नेलाई भुक्तानी गर्न सहकारीबाट उक्त रकम ऋण लिएका थिए ।
पुर्वमेयर मेन्याङ्बोले तोडफोडको अगुवाई धरानका मेयर हर्कराज राई (साम्पाङ)को निकट मिलन वान्तवा राईको नेतृत्वमा भएको पुनः दोहोर्याए । तोडफोडको नेतृत्व गर्ने मिलनले मेयर साम्पाङकै हातेमाइक पनि प्रयोग गरेकोले मेयरकै डिजाइन र निर्देशनमा भएको पनि दाबी गरे । यद्यपी जाहेरीमा भने मेयर साम्पाङको नाममा किटान नगरेको तर उनको सहयोगी समुह भनेर उल्लेख गरेको मेन्याङ्बोले बताए । ‘सबै मेयर साम्पाङकै मान्छेहरु छन्, भनिरहनै पर्दैन’उनले भने ।
पुर्वमेयर तिलक राईले सुरक्षानिकाय पनि बिशेष परिस्थितिमा भएकोले पहिलो चरणमा होटल कञ्चनजंघाबाट मात्र जाहेरी दिएको बताए । उनले अपराधिक कार्यमा संलग्न सबैलाई प्रहरीले कानुनी कारबाहीको दायरामा ल्याउछ भन्ने विश्वास भएको र बिहिबार पुनः अरु पीडितहरुबाट जाहेरी लिएर आउदा अनुसन्धानको प्रगति भएको खबर पाउनुपर्ने बताए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले प्रहरीले फिल्डमा निस्कन विगतमा जस्तो सहज नभइरहेको भएपनि घटनाहरुको अनुसन्धान र विश्लेषण कार्य भइरहेको बताए । उनले अपराधिक गतिविधिमा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने पनि बताए ।
मेयरका प्रत्यासीसमेत रहेका कांग्रेस नेता किशोर राईले धरान जलिरहदा र ठुलो क्षति पुग्दासमेत मेयर साम्पाङ स्थलगत अवलोकन गर्न र पीडितलाई सान्त्वना दिनसमेत नगएको भन्दै आक्रोश पोखे । उनले धरान जलाउन मेयर साम्पाङकै हात रहेको दाबी गर्दै देश नै जलिरहेको छ भनेर उम्कन नपाउने पनि बताए ।
जेन्जी आन्दोलनको दोस्रो दिन भदौ २४ मा होटल कञ्चनजंघासहित पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदी, कार्यपालिका सदस्य सृर्जना नेपाल, पुर्वसांसद जयकुमार राई, कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा र सुनसरी क्षेत्र नं १ सभापति सुजेन्द्र गोले तामाङको घरमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । यस्तै, वडा नं १० स्थित भाटभटेनी सुपरमार्केटमा पनि तोडफोड, लुटपाट र आगजनी भएको थियो ।
भाटभटेनीभित्र ४ जनाको शव जलेर केही हड्डीको अवशेष मात्र भेटिएको थियो । ती सबै लुटपाट, तोडफोड र आगजनीमा मेयर साम्पाङ निकट व्यक्तिहरु देखिएकोले उनकै निर्देशनमा भएको दाबी गरिएको छ । तर, मेयर साम्पाङले भने आज बिहान पत्रकार सम्मेलन गर्दे उक्त आरोप अस्वीकार गरेका छन् । उनले आफुले कसैलाई पनि त्यस्तो निर्देशन नदिएको र तोडफोडको नेतृत्व गरेका मिलन वान्तवाले बोकेको माइक पनि आफ्नो नभएको दाबी गरेका थिए ।
भिडियो:
भिडियो:
भिडियो: