धरान: जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाएका साजन मेवाहाङ राईको सम्मानका साथ धरानमा अन्त्येष्टी गरिएको छ ।

धरान वडा नं ५ स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा जातीय सँस्कार अनुसार उनको आज मंगलबार साँझ अन्त्येष्टी गरिएको हो । उनको शव मंगलबार हवाईजहाजमार्फत विराटनगर झारेर त्यहाँबाट शव वहानमा धरान ल्याइएको थियो । सम्मानको लागि इटहरीबाट नेपाली सेनाको टोली पनि धरान आएको थियो । भानुचोकमा श्रद्धाञ्जली कार्यक्रममा धरानका मेयर हर्कराज राई (साम्पाङ)ले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।

वडा नं ५ का अध्यक्ष मनप्रसाद लिम्बुका अनुसार भानुचोकमा श्रद्धाञ्जली कार्यक्रम सकेर स्वर्गीय राईको शवलाई जंगलमा लगेर सँस्कार अनुसार अन्त्येष्टी गरिएको हो । राई जातिमा पार्थिव शरीरलाई खाल्डो खनेर मुन्धुम अनुसार गाड्ने चलन छ । 

sajan copy

स्वर्गीय राई राजधानीमा बस्दै आएपनि उनको दाजुभाउजु धरान वडा नं ५ स्थित आँपटार चौरीमा बस्दै आएका छन् । श्रीमतिको निधन पश्चात उनी १३ र ६ बर्षीय दुई छोराको साथमा राजधानीमा बस्दै आएका थिए ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भक्तपुरको ठिमीमा भिडन्त हुँदा छातीमा गोली लागेर साजनको ज्यान गएको थियो । उनको मृत्युबारे परिवारजन तथा आफन्तले २ दिनपछि मात्र थाह पाएका थिए । डेरामा छोराहरुमात्र भएको र २ दिनसम्म पनि नआएपछि खोजी गर्दा केएमसि हस्पिटलमा शव फेला परेको आफन्तजनको भनाई छ ।

भिडियो: