धरानः अराजक समुहले आगो लगाएको धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट भित्र एउटा शव जलेर खरानी भएको अवस्थामा भेटिएको छ ।
आगो नियन्त्रणमा आएपछि आज शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको टोलीले खोजी गर्दा दोस्रो तलामा एउटा शव जलेर खरानी भएको अवस्थामा भेटिएको हो । आगोले शव जलेर शरीरको आकारमा खरानी भेटिएको थियो भने खप्पर, दात एवम् हड्डीको केही अवशेष मात्रै थियो । उक्त अवशेषलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्न लगेको छ । अन्य शवको खोजी कार्य पुनः गर्ने सुरक्षा निकायले जनाएको छ ।
भिडियो:
मंगलबार राती तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा ३ जना फसेको बताइएको छ । फसेका व्यक्तिका आफन्तजनहरुले अनौपचारिकरुपमा विभिन्न निकायमा सम्पर्क गरिरहेका छन् । भाटभटेनीमा लागेको आगो हिजो साँझमात्र नियन्त्रणमा आएको थियो ।
आज निरीक्षण एवं शव खोजीको क्रममा उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १० का अध्यक्ष विवेक राई, कार्यपालिका सदस्य सावित्री परियार, प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईं पनि पुगेका थिए । चौथो तलामा पुनः आगो सल्केको देखिए पछि अहिले दमकलले निभाउने प्रयास गरिरहेको छ ।
अपडेट
धरानको भाटभटेनीमा थप ३ जना जलेर खरानी भएको र केही कंकालको अवशेष भेटिएको छ । भटेभटेनीको चौथो तलामा ३ जनाको शवको अवशेष भेटिएको हो । यो सङ्गै भाटभटेनीभित्र फसेर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
उक्त अवशेषलाई प्रहरीले संकलन गरेर जाचको लागी लगेर गएको छ । ती शवहरुको पहिचान खुल्न सकेको छैन ।