धरान: प्रसिद्ध धार्मिकस्थल धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरमा रहेको सुकेका बाँसहरु काटिएको छ ।
बैशाख पुर्णिमाको अघिल्लो दिन हरेक बर्ष बुढासुब्बामा रहेका बाँसहरु काट्ने चलन छ । सोही चलन अनुसार आज सुकेका, ढलेका बाँसहरु काटिएको हो । यहाँको बाँसको टुप्पो नहुने भएकोले बिशेष महत्वको मानिन्छ । हावाहुरी वा सुकेर ढलेको भएपनि बर्षभरि ती बाँसहरुलाई नकाटि राखिएको हुन्छ । बर्षमा एक दिन बैशाख पुर्णिमाको अघिल्लो दिन मात्र ती बाँसमा हतियार लगाउने चलन भएको बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेले जानकारी दिए । ‘बैशाख पुर्णिमाको अघिल्लो दिन मात्र यहाँको बाँसहरुमा हतियार लगाइन्छ, अरु बेला सुकेको, ढलेको भएपनि ती बाँसहरुलाई काटिदैन, अड्याएर राखिन्छ,’उनले भने,‘सिंगारपटार गर्न एक,दुई वटा हरियो बाँस पनि काटिन्छ ।’

स्थानीय प्रेमप्रसाद पराजुलीका अनुसार यहाँको बाँस बुढा सुब्बाको धनुषबाट उत्पत्ति भएको विश्वास गरिने भएकोले काटेको बाँसको टुक्राहरु स्थानीयहरुले घरमा लगेर राख्ने चलन छ । यहाँको बाँस लगेर राख्दा घरमा शुभ हुने जनविश्वास रहेको उनले बताए । ‘घरमा नराम्रो हुदैन, फलिफाप हुन्छ, राम्रो हुन्छ भन्ने विश्वास छ, मैले पनि ल्याएर राखेको छुँ,’उनले भने,‘अत्यन्तै महत्वको यो मन्दिरमा प्रवेश गर्ने गेट चै राम्रो छैन । मैले सांसदहरुसँग पनि कुरा गरेको छुँ, कलात्मक गेट बनाइदिनुपर्छ ।’
व्यवस्थापन समितिका सचिव आलेका अनुसार बैशाख पुर्णिमाको दिन बुढासुब्बाको बिशेष पुजा हुन्छ । यो दिन बाजासहित बुढासुब्बाको गहनाहरु मन्दिरमा ल्याएर सजाइने आलेले जानकारी दिए । महानवमीको दिन पनि यस्तै पुजा हुन्छ । तर, बुढासुब्बाको बिशेष चाड वा पुजा भने बैशाख पुर्णिमाको दिन हुने व्यवस्थापन समितिका सचिव आलेको भनाई छ । ‘यो दिन लिंगो पनि ठड्याइन्छ, बाजागाजा हुन्छ,’उनले भने । उनका अनुसार चादीको आँखा, चादीको धनु, छत्रलगायत गहनाहरु छन् ।








