धरान: कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले धरान नगर अस्पताल बनाउन व्यक्तिगतरुपमा २ लाख सहयोग गर्ने घोषणा गरेकी छिन् । 

धरान उपमहानगरपालिकाको १७ औं नगरसभालाई शनिबार अतिथि वक्ताकोरुपमा सम्बोधन गर्दै सांसद कायस्थले यस्तो घोषणा गरेकी हुन् । उनले नगरभित्र जग्गा चाडै खोजी गरेर सरकारको मात्र आशा नहेरी सहयोग जुटाउन अस्पताल बनाउनुपर्ने पनि बताइन् । त्यसको लागि आफैबाट सहयोग दिन शुरुवात गर्ने उल्लेख गर्दे उनले २ लाख सहयोगको प्रतिवद्धता पनि जनाइन् । 

चालु आर्थिक बर्षमा धरान नगर अस्पताल बनाउन २ करोड बजेट विनियोजन गरिएको छ । नगरबासीहरु सरकारले उपलब्ध गराउदै आएको निःशुल्क आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित रहेको भन्दै सांसद कायस्थले नगर अस्पताल निर्माणको पहल गरिरहेकी छिन् । यसअघि उनले तत्कालिन स्वास्थ्यमन्त्री, प्रधानमन्त्री समेतलाई भेटेर धरानमा नगर अस्पताल बनाउन सहयोगको माग गरेकी थिइन् । 

सांसद कायस्थले छाताचोकको जग्गा विवादले समस्या भए नगरकै मातहतमा रहेको सभागृहको खाली जग्गा वा सप्तरंगी पार्कको जग्गामा भएपनि तत्काल नगर अस्पताल बनाउन पनि सुझाव दिएकी थिइन् । विगतमा धरानले आसरा सुधार केन्द्र जस्ता जनसहभागिताबाट थुप्रै संरचनाहरु निर्माण गरिसकेको भन्दै नगर अस्पताल बनाउन पनि जनसहभागिता जुट्ने बताइन् । साथै उनले उनले शिक्षा र स्वास्थ्यको लागि स्थानीय सरकारले बजेटमा प्राथमिकता दिनुपर्ने पनि बताइन् ।